सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय सारु र बागचन्दको संसदीय सुनुवाइ सम्पन्न

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित उच्च अदालतका न्यायाधीशद्वय चन्द्रबहादुर सारु र डा. रत्नबहादुर बागचन्दको संसदीय सुनुवाइ समितिमा शुक्रबार सुनुवाइ सम्पन्न भएको छ । सुनुवाइका क्रममा सांसदहरूले न्यायपालिकामा बिचौलियाको प्रभाव, न्यायाधीशको निष्पक्षता र पछिल्लो समय चर्चामा रहेको इनम सापकोटा प्रकरणका विषयमा केन्द्रित रहेर प्रश्नहरू उठाएका थिए ।

संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वयको योग्यता, क्षमता र कार्ययोजनामाथि छलफल गरेको हो । सुनुवाइका क्रममा सांसदहरूले न्यायपालिकाको साख जोगाउन र बिचौलियाको हस्तक्षेप अन्त्य गर्न प्रस्तावित न्यायाधीशहरूको ठोस योजना माग गरेका थिए । विशेषगरी इनम सापकोटा प्रकरणले न्यायालयको छविमा पारेको प्रभाव र न्यायाधीशहरूको आचरणका विषयमा गम्भीर प्रश्नहरू उठाइएका थिए ।

प्रस्तावित न्यायाधीश चन्द्रबहादुर सारुले आफ्नो जवाफका क्रममा न्यायाधीश सधैँ निष्पक्ष र निर्भीक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले कुनै पनि किसिमको दबाब वा प्रभाव आफूलाई स्वीकार्य नहुने र न्याय सम्पादनमा आत्माको आवाज सुन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सांसदहरूले उठाएको बिचौलियाको प्रसङ्गमा उहाँले न्यायपालिकाको वर्तमान परिस्थितिलाई चिन्ताजनक मान्दै सुधारका लागि आफ्नो योगदान रहने जिकिर गर्नुभयो ।

अर्का प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्दले न्यायाधीशलाई गल्ती गर्ने कुनै छुट नहुने र व्यक्तिगत आचरणले संस्थाको मर्यादामा आँच आउन नहुने धारणा राख्नुभयो । उहाँले फैसला कार्यान्वयनको समस्या समाधानका लागि नयाँ अवधारणा प्रस्तुत गर्दै न्यायपालिकाले नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताउनुभयो । सुनुवाइमा प्रहरी अनुसन्धान र डिजिटल प्रमाणको विश्वसनीयताका विषयमा समेत कानुनी बहस भएको थियो ।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज