काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा एक सार्वजनिक बसका चालकले गाडीभित्रै बसेर आगो लगाएका छन्। बा ५ ख ४२७४ नम्बरको बसका २५ वर्षीय चालक दावा लामाले सोमबार दिउँसो आफैँ सवार बसमा आगजनी गरेका हुन्।
घटना हुँदा बसमा कुनै पनि यात्रु थिएनन्। यात्रुविहीन अवस्थाको बसमा चालक लामाले भित्रै बसेर आगो लगाएपछि गाडी ह्वारह्वार्ती बलेको थियो। घटनालगत्तै पुगेको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।
आफैँले लगाएको आगोबाट जलेर घाइते भएका चालक लामालाई तत्काल उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। चालकले आफ्नै बसमा आगो लगाउनुको यकिन कारण खुल्न नसके पनि ट्राफिक प्रहरीसँगको विवादका कारण आक्रोशित भएर यस्तो कदम चालेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

