घुस आरोपमा छानबिन समिति गठन, स्वास्थ्य सचिव सरुवा

पोखरा । पोखरास्थित पद्म नर्सिङ होमको शय्या स्तरोन्नतिका क्रममा आर्थिक अनियमितता र घुस बार्गेनिङको आरोप लागेपछि गण्डकी प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार स्वास्थ्य मन्त्रालयका सचिव डा. युवानिधि बसौलालाई पदबाट हटाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काज सरुवा गरिएको छ।

प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनका अनुसार विगत दुई वर्षमा स्वास्थ्य मन्त्रालयबाट प्रदान गरिएका अस्पताल स्तरोन्नतिका निर्णय र कानुनी प्रक्रियाको अध्ययन गर्न छानबिन समिति बनाइएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिवको संयोजकत्वमा गठित तीन सदस्यीय समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्ने समय दिइएको छ। यस प्रकरणको थप गहन अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयमा पत्राचार गर्ने निर्णयसमेत प्रदेश सरकारले गरेको छ। अनुसन्धान टुङ्गोमा नपुगुञ्जेल स्तरोन्नतिसम्बन्धी सम्पूर्ण निर्णयको कार्यान्वयन स्थगित गरिएको छ।

पद्म नर्सिङ होमलाई ५० बाट १०० शय्यामा विस्तार गर्ने क्रममा निवर्तमान स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे, उनका स्वकीय सचिव यादव पौडेल र सचिव डा. बसौलाले २५ लाख रुपैयाँ घुस मागेको आरोप लागेको हो। यद्यपि, संलग्न व्यक्तिहरूले भने सो आरोपको खण्डन गर्दै आएका छन्। घटना सार्वजनिक भएपछि नेकपा एमाले संसदीय दलले पनि प्रमुख सचेतक देवका पहारीको संयोजकत्वमा छानबिन समिति गठन गरी आन्तरिक अनुसन्धान सुरु गरेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज