काठमाडौँ । ढाका सिलाइ बुनाइ तालिमको प्रशिक्षक नियुक्त गराइदिन ४५ हजार रुपैयाँ घुस लिएको अभियोगमा सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अञ्जु नाछिरिङ राई र उनका छोरा सुनिल राईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार दुवै जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालित ९० दिने ढाका सिलाइ बुनाइ तालिम कार्यक्रममा प्रशिक्षकको रूपमा काम दिलाए बापत उपाध्यक्ष राईले घुस रकम माग गरेकी थिइन्। उक्त रकम उनले आफ्ना छोरा सुनिलको बैंक खातामा क्युआर (QR) कोडमार्फत ट्रान्सफर गर्न लगाएको अनुसन्धानबाट खुलेको छ।
घुस रकम लिने कार्यमा उपाध्यक्षसँगै उनका छोराको समेत प्रत्यक्ष संलग्नता पुष्टि भएकाले आमा-छोरा दुवै जनालाई प्रतिवादी बनाउँदै भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाही र बिगो असुलको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

