काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ। राहदानी खरिद प्रक्रियामा भएको भनिएको अनियमितताको छानबिन गर्ने क्रममा आयोगले उनलाई पक्राउ गरेको हो।
अख्तियारको टोलीले महानिर्देशक अर्याललाई सिंहदरबार परिसरबाट नियन्त्रणमा लिएको हो। राहदानी छपाइसम्बन्धी विषयमा छलफलका लागि बोलाइएको समयमा उनलाई आयोगले नियन्त्रणमा लिएको बताइएको छ। यस प्रकरणमा व्यवसायी सिद्धार्थ थापासहित अर्का एक व्यक्तिलाई पनि अख्तियारले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
अख्तियारले राहदानी छपाइ र सोसँग सम्बन्धित ठेक्का प्रक्रियामा भएको आर्थिक अनियमितताको आशंकामा अनुसन्धान अघि बढाएको छ। यस मुद्दामा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू पनि अख्तियारको निगरानीमा रहेको स्रोतको दाबी छ।
अख्तियारले यस विषयमा औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन, तर सोही प्रकरणमा थप सोधपुछ र प्रमाण संकलनको कार्य जारी रहेको जनाएको छ। हाल महानिर्देशक अर्यालसहित पक्राउ परेका व्यक्तिहरू सुरक्षा निगरानीमा छन्।

