काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–४, बासपानीमा स्थानीय महिलाको टेम्पो भिरबाट खसालिएको घटनामा संलग्न दुई वन कर्मचारीविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ परेका १२ जना वन कर्मचारीमध्ये वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलाराविरुद्ध ‘शान्ति विरुद्धको कसुर’मा मुद्दा चलाइएको हो। बाँकी १० जनालाई भने प्रहरीले रिहा गरिएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार पीडित महिलाको जाहेरीका आधारमा उक्त कानुनी प्रक्रिया अघि बढाइएको हो।
गत शुक्रबार वन कार्यालयका कर्मचारीले सडक किनारमा व्यापार गरिरहेकी ४४ वर्षीया धनादेवी धामीको टेम्पो वन क्षेत्र अतिक्रमण गरेको भन्दै भिरबाट धकेलेर खसालिदिएका थिए। टेम्पो खसाल्नुअघि कर्मचारीले त्यसमा रहेको सामान भने बाहिर निकालेका थिए। यस घटनाको भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा कर्मचारीको कार्यशैलीको व्यापक आलोचना भएको थियो।
घटनाको सत्यतथ्य पत्ता लगाउन सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा गठित उक्त समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। समितिमा सहायक प्रमुख जिल्ला अधिकारी, डिभिजनल वन अधिकृत, यातायात कार्यालयका मेकानिकल इन्जिनियर र कानुन अधिकृत सदस्य रहेका छन्।
यस विषयमा पीडित पक्ष, स्थानीय जनप्रतिनिधि र वनका पदाधिकारीबीच जिल्ला प्रशासन कार्यालयमा छलफल जारी छ। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार मंगलबार पनि सरोकारवाला पक्षबीच वार्ता हुनेछ।
यता, डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरसहितका कर्मचारीहरूले भने घटनाको बचाउ गरेका छन्। आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले टेम्पो जानाजान नखसालिएको जिकिर गरेका छन्। ‘अतिक्रमण हटाउने क्रममा भौगोलिक विकटता र सन्तुलन बिग्रिएका कारण गुड्न नसक्ने अवस्थाको कबाड टेम्पो आफैं खस्न पुगेको’ उनीहरूको दाबी छ।

