एमाले नेता महेश बस्नेतकी श्रीमतीसहित १० जनाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी

काठमाडौं । धादिङकी जानुका पाठक (शोभा पाठक) ले नेकपा एमालेका सचिव महेश बस्नेतकी श्रीमती अम्बिका भण्डारीसहित १० जना महिलाविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दर्ता गराएकी छन्। हिजो राजधानीको माइतीघरमा भएको सडक झडप र लछारपछारको घटनालाई लिएर उनले ज्यान मार्ने उद्योगसम्बन्धी कसूरमा कारबाहीको माग गर्दै उजुरी दिएकी हुन्।

माइतीघरको सडकमै कपाल भुत्लाभुत्ली गर्ने र एकअर्कालाई लछारपछार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि यो विषयले कानुनी मोड लिएको हो।

उक्त घटना लगत्तै प्रहरीले बस्नेत पक्षका केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर परिसर पुऱ्याएको थियो भने घाइते भएकी पाठक उपचारका लागि अस्पताल भर्ना भएकी थिइन्। अस्पतालबाटै सामाजिक सञ्जालमार्फत आफ्ना कुरा राख्दै आएकी पाठकले आफूमाथि साङ्घातिक आक्रमण भएको दाबीसहित उजुरी दिएकी हुन्। उनले दायर गरेको जाहेरीमा किटानी गरिएका सबै १० जना महिलाहरू भक्तपुर जिल्लाका बासिन्दा हुन्।

जाहेरीमा अम्बिका भण्डारी (बस्नेत), शर्मिला बस्नेत, गीता पण्डित, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, सबिना केसी, कमला बस्नेत र नीता खत्रीको नाम, उनीहरूका अभिभावकको विवरण र मोबाइल नम्बर समेत उल्लेख गरिएको छ। पाठकले नाम खुलेका १० जना बाहेक अनुहार चिनिने तर नाम थाहा नभएका अन्य आधा दर्जन व्यक्तिहरूले पनि आफूमाथि दुर्व्यवहार र आक्रमण गरेको उल्लेख गरेकी छन्।

सम्बन्धित समाचार

ताजा न्यूज