काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि आजदेखि सङ्घीय संसद्को पहिलो अधिवेशन विधिवत् रूपमा सुरु हुँदैछ। सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २:०० बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले चैत १६ गते मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानबमोजिम दुवै सदनको अधिवेशन आह्वान गरेका हुन्।
निर्वाचन आयोगले चैत ५ गते प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम प्रतिवेदन बुझाएपछि संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्रै यो अधिवेशन सुरु हुन लागेको हो। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा तथा प्राविधिक लगायतका सम्पूर्ण तयारी पूरा भइसकेको छ भने राष्ट्रियसभाको बैठक सचिवालयकै राष्ट्रियसभा कक्षमा बस्नेछ।
कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेकपा (एमाले) का २५, नेकपाका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ र एक स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको छ। बैठकको प्रारम्भमा सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान तथा मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रहरू पढेर सुनाउने कार्यसूची रहेको छ। आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ गरी तीनवटा अध्यादेशहरू पेस गर्ने तयारी गरिएको छ।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सभाले आफ्नो नियमावली नबनाएसम्मका लागि प्रतिनिधिसभा नियमावली २०७९ बमोजिम कामकारबाही अघि बढाउने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गरिनेछ। आजै सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने र दलीय आधारमा सदस्यहरूले आफ्नो मन्तव्य राख्ने कार्यक्रम समेत तय भएको छ। सोही बैठकमा सभामुखले सभामुख पदको निर्वाचनका लागि मिति तोक्ने कार्यसूची रहेको छ। बैठकको अन्त्यमा पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र बलदेव बोहोराको निधनमा शोक प्रस्ताव प्रस्तुत गरिने सचिवालयले जनाएको छ।

