झापा । नवोदित कानुन व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मस्यौदा लेखनसम्बन्धी एकदिने तालिम झापाको भद्रपुरमा सम्पन्न भएको छ।
कानुनी ज्ञान केन्द्र, झापाको आयोजनामा सम्पन्न तालिम कार्यक्रम जिल्ला सरकारी वकील कार्यालय झापाका जिल्ला न्यायाधिवक्ता दिपेश शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा झापा जिल्ला अदालतका शाखा अधिकृत रामचन्द्र बस्नेत तथा झापा बार एशोसिएसनका सहसचिव एवं झापा बार महिला समितिकी अध्यक्ष अधिवक्ता सानु कार्की बस्नेतको आतिथ्यता रहेको थियो।
तालिम कार्यक्रमको अध्यक्षता कानुनी ज्ञान केन्द्र झापाका अध्यक्ष अधिवक्ता तारामणी सापकोटाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन केन्द्रका सचिव अधिवक्ता नरेस खातीले गर्नुभएको थियो।
एकदिने तालिम कार्यक्रममा झापा जिल्ला अदालतका न्यायाधीश पारसमणी पोखरेल तथा अधिवक्ता बसन्त जोशीले प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा २० जनाभन्दा बढी नवोदित कानुन व्यवसायीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
कानुनी शिक्षा र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले स्थापित कानुनी ज्ञान केन्द्र झापाको कार्यसमितिमा अध्यक्ष अधिवक्ता तारामणी सापकोटा, उपाध्यक्ष अधिवक्ता तिलक अर्याल, सचिव अधिवक्ता नरेस खाती, सहसचिव अधिवक्ता अनु रावत, कोषाध्यक्ष अधिवक्ता सुरज मैनाली तथा सदस्यहरूमा अधिवक्ता रुद्रमणी भट्टराई र अधिवक्ता हेमनारायण राजवंशी रहनुभएको छ।


