आज १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार मनोनयन

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको व्यवस्था गरिएको छ।

मनोनयन दर्ता गर्न आउने उम्मेदवारले नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। साथै, सम्बन्धित गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि आवश्यक हुने आयोगले जनाएको छ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका क्रममा कुनै पनि प्रकारको तडकभडक नगर्न, शान्त र मर्यादित ढंगले निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गरेको छ। भीडभाड नियन्त्रण र प्रक्रिया सहज बनाउन आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारका लागि छुट्टाछुट्टै समयसमेत तोकेको छ।

यसअघि आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक प्रणालीमार्फत ११० जना र प्रत्यक्ष प्रणालीमार्फत १६५ जना सांसद निर्वाचित हुने व्यवस्था छ।

गत भदौ २३ र २४ गतेको जनआन्दोलनपछि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक साधन–स्रोत उपलब्ध गराइसकेको छ। निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोट प्रक्रिया पनि सुरु भइसकेको छ।

अधिकांश राजनीतिक दलले उम्मेदवार छनोट प्रक्रिया टुंग्याइसकेका छन्। नेपाली कांग्रेसले केही निर्वाचन क्षेत्रमा अझै उम्मेदवार छनोटको प्रक्रिया जारी रहेको जनाएको छ भने नेकपा एमालेले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरिसकेको दाबी गरेको छ। एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलहरूले उम्मेदवारलाई आधिकारिक पत्रसमेत वितरण गरिसकेका छन्।

निर्वाचन आयोगले आवश्यक सबै तयारी पूरा भइसकेको जनाउँदै आज देशभर उत्साहपूर्ण वातावरणमा उम्मेदवार मनोनयन कार्यक्रम सञ्चालन हुने विश्वास व्यक्त गरेको छ। विसं २०७९ मा निर्वाचित प्रतिनिधिसभा गत भदौको आन्दोलनपछि विघटन भएपछि नयाँ निर्वाचन हुन लागेको हो।

सम्बन्धित समाचार

ताजा न्यूज