काठमाडौँ । निर्वाचन आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका गतिविधिबारे अनुसन्धान अघि बढाउन निर्देशन दिएको छ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएको निर्णयसँग जोडेर भ्रामक सूचना फैलाइएको आरोप लगाउँदै आयोगले प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर ब्युरोलाई पत्राचार गरेको हो। आयोगले आइतबार पठाएको पत्रमार्फत प्रसाईंलाई अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको जनाएको छ।
आयोगका अनुसार प्रसाईंले निर्वाचन आयोगसँग सम्बन्धित निर्णयबारे तथ्यहीन र भ्रामक दाबी सार्वजनिक रूपमा गरेको आरोप छ। उनले दलको आधिकारिकता पैसाको प्रभावमा दिइएको भन्ने आशयका अभिव्यक्ति दिएको भन्दै आयोगले यसलाई गम्भीर विषयका रूपमा लिएको छ।
निर्वाचन आयोगले सार्वजनिक संस्थाको विश्वसनीयतामा असर पार्ने खालका भ्रामक सूचनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ।

