काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिट दर्ता भएको छ। आइतबार बिहान निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूले अदालत पुगेर रिट दायर गरेका हुन्।
देउवा पक्षले तत्काल सुनुवाइको आग्रह गरे पनि कानुनी प्रक्रिया नमिल्ने भन्दै सर्वोच्च प्रशासनले त्यसलाई अस्वीकार गरेको छ। रिटको पहिलो सुनुवाइ मंगलबारका लागि पेसी तोकिएको छ।
रिट निवेदनमा देउवा पक्षले तीन वटा प्रमुख माग अघि सारेको छ। पहिलो, पार्टीको विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै त्यसबाट बनेको केन्द्रीय कार्यसमितिलाई भंग गर्नुपर्ने माग गरिएको छ।
दोस्रो, आगामी फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते तोकिएको मनोनयन दर्ता प्रक्रिया रोक्न अन्तरिम आदेश माग गरिएको छ। मंगलबार नै मनोनयन दर्ता तय भएकाले उम्मेदवारी चयन नै स्थगित गर्नुपर्ने देउवा पक्षको आग्रह छ।
तेस्रो, यदि मनोनयन दर्ता भइसकेको अवस्थामा त्यसलाई रद्द गरी नयाँ मिति तोक्न सर्वोच्चले आदेश दिनुपर्ने माग रिटमा उल्लेख छ।
यससँगै निर्वाचन आयोगले शुक्रबार गरेको निर्णय-सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिएको निर्णय-बदर गर्न पनि देउवा पक्षले अदालतसँग माग गरेको छ।
रिटमा निवेदकका रूपमा शेरबहादुर देउवा रहेका छन् भने निर्वाचन आयोग, सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा तथा विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति विपक्षी बनाइएका छन्।

