राजावादी प्रदर्शनका लागि सामूहिक एसएमएस पठाउने व्यक्ति पक्राउ

काठमाडौं । राजावादी प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै ठूलो संख्यामा एसएमएस पठाएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा निर्देश सेढाईं रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सेढाईंलाई नियन्त्रणमा लिएको हो। प्रहरीले सेढाईंले एकैपटक ठूलो संख्यामा व्यक्तिहरूलाई राजावादी आन्दोलनमा सहभागी हुन आग्रह गर्दै एसएमएस पठाएको पाएको जनाएको छ।

अपराध अनुसन्धान कार्यालयका अनुसार करिब ५० लाख जनालाई एकैचोटि सन्देश पठाइएको थियो। एसपी काजीकुमार आचार्यले नेपाल टेलिकमको गेटवे प्रयोग गरी ‘एटी अलर्ट’ जस्तै देखिने ढाँचामा एसएमएस पठाइएको जानकारी दिए।

प्रहरीका अनुसार यस कार्यका लागि सेढाईंले दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूसँग सम्झौता गरेको खुलेको छ। उनले तीनमध्ये दुई वटा कम्पनीमार्फत करिब एक करोड रुपैयाँ खर्च गरेर सन्देश पठाएको दाबी गरेका छन्।

प्रारम्भिक अनुसन्धानअनुसार चितवनका सेढाईं पेशाले कार व्यवसायी हुन्। उनको पेट्रोल पम्पसमेत रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज