काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर १० हजार ९२६ मतदानस्थल निर्धारण गर्ने प्रारम्भिक तयारी गरिएको छ। निर्वाचन आयोग, गृह मन्त्रालय र सुरक्षा निकायहरूले मतदाता संख्या र सुरक्षा अवस्थाको समग्र मूल्यांकनपछि मतदानस्थलको संख्या तय गर्ने प्रक्रिया अघि बढाएका हुन्।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार प्रारम्भिक छलफलमा करिब १० हजार ९२३ देखि १० हजार ९२६ मतदानस्थल रहने आकलन गरिएको छ। उनले अन्तिम निर्णयमा केही तलमाथि हुन सक्ने बताएका छन्।
सुरक्षा संवेदनशीलता अनुसार देशभरका मतदानस्थलहरूलाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन वर्गमा राखिएको छ। हालसम्म प्राप्त सुरक्षा निकायका रिपोर्टअनुसार ३ हजार ५१८ मतदानस्थल अतिसंवेदनशील सूचीमा परेका छन्। यसैगरी ४ हजार ५२९ संवेदनशील र २ हजार ८७९ सामान्य सूचिमा राखिएका छन्। तराईका जिल्लाहरूमा संवेदनशीलता बढी देखिएको छ।
यसैबीच आगामी निर्वाचनका लागि २२ हजार ३०४ मतदान केन्द्र रहनेगरी प्रारम्भिक तयारी गरिएको छ। तीमध्ये ७ हजार १५० मतदान केन्द्र अतिसंवेदनशील, ९ हजार ३२० संवेदनशील र ५ हजार ८३४ सामान्य सूचिमा परेका छन्। संख्या अन्तिम टुंगो लाग्न बाँकी छ।
मतदानस्थल र केन्द्रहरूको सुरक्षाका लागि तीन घेरामा सुरक्षा निकाय परिचालन गरिने बताइएको छ। पहिलो घेरामा म्यादी प्रहरी, नेपाल प्रहरी र गुप्तचर परिचालन हुनेछन्। दोस्रो घेरामा सशस्त्र प्रहरी बल खटिनेछ भने सबैभन्दा बाहिरी घेरामा नेपाली सेना रहनेछ। नेपाली सेना परिचालनका लागि राष्ट्रपतिबाट स्वीकृति भइसकेको छ।
निर्वाचन सुरक्षाका लागि १ लाख ३२ हजारभन्दा बढी म्यादी प्रहरी (यसपटक ‘निर्वाचन सुरक्षा प्रहरी’) भर्नाको तयारी पनि अन्तिम चरणमा पुगेको छ। उनीहरूलाई ४० दिनका लागि प्रहरी जवान सरहको सुविधा प्रदान गरिनेछ।
अधिकारीहरूका अनुसार अहिलेको सुरक्षा अवस्था जटिल छ। जेनजी आन्दोलनका क्रममा कारागारबाट १४ हजारभन्दा बढी कैदी फरार भएका थिए, जसमा करिब ५ हजार अझै पक्राउ परेका छैनन्। यता, प्रहरीका १ हजार २७१ हतियार लुटिएका छन्, तीमध्ये करिब आधा अझै फिर्ता भइसकेका छैनन्। करीब ९८ हजार लाइभ राउन्ड समेत हराएको छ। कैदीबन्दी र थुनुवा बाहिर रहनु, हतियार तथा गोली बेपत्ता हुनुजस्ता अवस्थाले मतदानस्थललाई कडा सुरक्षा श्रेणीमा राख्नुपर्ने परिस्थिति बनेको अधिकारीहरूले बताएका छन्।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित, व्यवस्थित र भयरहित बनाउन आवश्यक सम्पूर्ण तयारी तीव्र रूपमा अघि बढाइएको छ।

