काठमाडौँ । नियमित अनुगमनका क्रममा खजुरीको नेपाल प्रालिले उत्पादन गर्ने ‘पफ’मा मानव स्वास्थ्यका लागि जोखिम बढाउने ट्रान्स फ्याट तोकिएको मापदण्डभन्दा अत्यधिक रहेको खुलासा भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त उत्पादन तत्काल बजारबाट हटाउन निर्देशन दिएको छ।
विभागले गोदावरी–१०, ललितपुरस्थित कारखानाबाट उत्पादन भएका ब्याच नम्बर ‘B13A’ र ‘B15A’ का पफ नमुनाहरू प्रयोगशालामा परीक्षण गर्दा औद्योगिक ट्रान्स फ्याट २ प्रतिशतभन्दा कम हुनुपर्ने कानुनी प्रावधान उल्लङ्घन भएको पुष्टि भएको जनाएको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ मा तोकिएको सीमा नाघेकाले विभागले यी पफलाई ‘गुणस्तरहीन तथा उपभोक्ताको स्वास्थ्यमा खतरा पुर्याउने’ श्रेणीमा राखेको हो।
विभागका प्रवक्ता डा. बालकुमारी शर्माले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने ट्रान्स फ्याटको मात्रा अत्यधिक भेटिएकाले बजारमा पुगेका उत्पादन तुरुन्त हटाउन सम्बद्ध उद्योगलाई आदेश दिइएको बताइन्। उनका अनुसार ऐनको दफा ३८(२) र ३८(४) बमोजिम उद्योगलाई तत्काल विक्रि–वितरण रोक्न र बजारमा रहेको स्टक फिर्ता लिन पत्राचार गरिएको छ।
विभागले उपभोक्ताहरूलाई पनि गुणस्तरहीन पफ उत्पादन नकिन्न र कुनै समस्या देखिएमा नजिकको कार्यालयमा उजुरी दिन आग्रह गरेको छ।

