जनकपुरधाम । मधेश प्रदेशको कार्यकारी नेतृत्व फेरिएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले मुख्यमन्त्री नियुक्त गर्दै नयाँ सरकार गठनको प्रक्रिया पूरा गरेका छन्।
यादवलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बहुमत समर्थन प्राप्त सांसदको हैसियतले जिम्मेवारी दिइएको हो। सात दलीय गठबन्धन—कांग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीसहितका ७७ सांसदको समर्थन यादवले प्रस्तुत गरेका थिए।
यसअघि ठूलो दलको नेतृत्व गर्दै नेकपा एमालेका सरोजकुमार यादव मुख्यमन्त्री बनेका थिए। तर उनी गत मंसिर १७ गते पदत्याग गरेपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको थियो।
एमालेका यादवलाई गत कात्तिक २३ गते संविधानको धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको थियो। सो निर्णयविरुद्ध सात दलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेपछि राजनीतिक समीकरण फेरिएको हो।
उक्त मुद्दामाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले मंसिर १५ गते तत्कालीन सरकारलाई २४ घण्टा भित्र विश्वासको मत लिन निर्देशन दिएको थियो। निर्धारित समयभित्र सरकारले मत हासिल गर्न नसकेपछि धारा १६८(२) अनुसार नयाँ सरकार गठनको बाटो खुलेको थियो।
त्यसपछि कांग्रेस नेतृत्वको गठबन्धन अघि बढ्दै कृष्णप्रसाद यादव मुख्यमन्त्री बन्न सफल भएका हुन्।

