सर्वोच्च आगजनी प्रकरणमा ल क्याम्पसका पूर्वस्ववियु सभापति ढुंगेल पक्राउ

काठमाडौं। भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा भएको तोडफोड र आगजनी प्रकरणमा संलग्न रहेको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति विष्णु ढुंगेल पक्राउ परेका छन्। पहिल्यै पक्राउ परेका दुईजनाको बयानका आधारमा प्रहरीले लामो समयदेखि निगरानी गर्दै आएका ढुंगेललाई चितवनबाट नियन्त्रणमा लिएको हो।

यसअघि घटनामा संलग्न रहेको भन्दै झापाको भद्रपुरका २८ वर्षीय ज्योति थापा घताने र ललितपुरका ३० वर्षीय सुशील श्रेष्ठ ‘ब्राउन’ पक्राउ परेका थिए। उनीहरूले आफ्नो बयानमा ढुंगेलको उक्साहनपछि सर्वोच्चमा आगजनी गर्न पुगेको बताएका थिए। बयानपछि प्रहरीले ढुंगेलको पहिचान पुष्टि गरी खोजी अभियान थालेको थियो।

प्रहरीले संकलन गरेका विभिन्न फोटो र भिडियो फुटेजमा ढुंगेल सर्वोच्च परिसरमा भीडको अगाडि आक्रोशित रूपमा देखिएका छन्। आगजनीतर्फ भीडलाई उकासतै गरेको आवाजसमेत भिडियोमा सुन्न सकिने प्रहरीको दाबी छ। प्रमाण बलियो बन्दै गएपछि उनलाई पक्राउ गरिएको हो।

ढुंगेल तत्कालीन माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका नेता पनि हुन्। २०७९ सालको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा उनी नेपाल ल क्याम्पसका सभापतिमा निर्वाचित भएका थिए। पेशाले अधिवक्ता रहेका ढुंगेल घटनाको दिन सर्वोच्च परिसरमा आक्रोशित मुद्रामा देखिएको भिडियो हाल सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर भइरहेको छ।

सर्वोच्च अदालतले आगजनी गर्ने समूहविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएका कारण घटना औपचारिक रूपमा अनुसन्धानमा गएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले ढुंगेललाई चितवनबाट पक्राउ गरिएको पुष्टि गरेका छन्। पक्राउ परेका सबैलाई आपराधिक उपद्र्व मुद्दामा म्याद थपेर हिरासतमा राखी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज