अवकाशको पहिलो दिनमै पूर्व आईजीपी खापुङमाथि विदेश रोक, उपत्यका छाड्न निषेध

काठमाडौँ । नेपाल प्रहरीका हालै अवकाशप्राप्त महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङमाथि भाद्र २३ र २४ गतेका घटनाबारे छानबिन गर्न बनेको आयोगले निगरानी कडा बनाएको छ। सेवाबाट अवकाश पाएका दिनमै आयोगले खापुङमाथि विदेश भ्रमण निषेध र उपत्यका बाहिर जान प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित ‘भाद्र २३ र २४ का घटना सम्बन्धी जाँचबुझ आयोग’ले बिहीबार बसेको बैठकबाट यो निर्णय गरेको हो। आयोगका प्रवक्ता विज्ञान राज शर्माद्वारा जारी विज्ञप्तिअनुसार, खापुङलाई आवश्यक परेमा कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने भएकाले उनलाई हालका लागि उपत्यका बाहिर जान नदिने र विदेश भ्रमण रोक्ने व्यवस्था गर्न सम्बन्धित निकायलाई पत्राचार गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “आजदेखि सेवाबाट निवृत्त हुनुभएका नेपाल प्रहरीका महानिरीक्षक श्री चन्द्रकुबेर खापुङलाई भाद्र २३ र २४ गतेका घटनाहरूको छानबिन तथा जाँचबुझका लागि कुनै पनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने भएकाले आजैदेखि लागू हुने गरी विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बिना उपत्यका छाड्न नपाउने व्यवस्था गर्न सम्बन्धित निकायलाई पत्राचार गरिएको छ।”

आयोगले खापुङलाई निर्णयबारे आधिकारिक रूपमा जानकारी गराउने पनि जनाएको छ।

खापुङमाथि भाद्र २३ र २४ का घटनामा संलग्न प्रहरी अधिकारीहरूको विवरण नदिएको आरोप पहिले नै लागेको थियो। सो घटनाको सत्यतथ्य पत्ता लगाउन आयोगले हालसालै तीव्रता बढाएको छ।

आयोग नजिकका स्रोतका अनुसार, खापुङमाथि प्रारम्भिक निगरानी बढाइएको र छानबिन प्रक्रियामा सहयोग नगरे थप कानुनी कारबाहीको तयारी भइरहेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज