ओली र लेखकविरुद्धको जाहेरी फिर्ता: आयोगले भन्यो– फौजदारी अनुसन्धान प्रहरीको जिम्मा

काठमाडौं । भदौ २३ र २४ गतेका घटनासँग सम्बन्धित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध दर्ता भएका जाहेरी अब प्रहरीले नै बुझ्ने भएका छन्।

जाँचबुझ आयोगले बिहीबार बसेको बैठकबाट उक्त जाहेरीहरू प्रहरीमा नै फिर्ता पठाउने निर्णय गरेको हो। यसअघि काठमाडौं प्रहरी परिसरमा परेको जाहेरी आयोगको अधिकारक्षेत्रमा पर्छ भन्दै प्रहरीले दर्ता गर्न मानेको थिएन। त्यसपछि जाहेरी आयोगमा पठाइएको थियो।

तर, आयोगले पुनः सो जाहेरी प्रहरीलाई फिर्ता पठाउँदै फौजदारी अपराधमा अनुसन्धान र कारबाही गर्ने अधिकार नेपाल सरकारका संयन्त्रहरूलाई नै रहेको स्पष्ट पारेको छ। आयोगले फौजदारी वारदातमा अभियोजन र तहकिकात गर्ने काम आफ्नो कार्यक्षेत्रभित्र नपर्ने जनाएको छ।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “फौजदारी कसूरमा संलग्न जोकोही व्यक्तिमाथि नेपाल सरकारका संयन्त्रहरूले तत्काल अनुसन्धान र कारबाही गर्न-गराउन कानूनी व्यवस्था स्पष्ट रूपमा रहेको छ।”

मृतक रसिक खतिवडाका पिता पुरुषोत्तम खतिवडासहित चार जनाले प्रहरीमा जाहेरी दिएका थिए। आयोगले ती जाहेरीका प्रतिलिपिसहित सबै कागजात जिल्ला प्रहरी परिसर काठमाडौंमा फिर्ता पठाएको जनाएको छ।

यो निर्णयसँगै उक्त घटनाको अनुसन्धान र सम्भावित कानूनी कारबाहीको जिम्मा फेरि प्रहरी संगठनमाथि फर्किएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज