अनेरास्ववियुले दियो बालेन र सुदनविरुद्ध प्रहरीमा जाहेरी

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको टोलीले जेनजी आन्दोलनको क्रममा सरकारी संरचना तोडफोड गरेको आरोप लगाउँदै हामी नेपालका संयोजक सुदन गुरुङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको छ ।

अखिलका पूर्वअध्यक्ष समिक बडाल र वर्तमान महासचिव दीपक धामीसहितको टोली मंगलबार प्रहरी परिसर पुगेको हो। उनीहरूले आन्दोलनका नाममा सरकारी सम्पत्ति नष्ट गरेको र कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन्। जोहरी दर्ता नभए पनि प्रहरीले २४ घण्टाभित्र जवाफ दिने बताएको छ ।

यसअघि मंगलबार नै सुदन गुरुङ नेतृत्वको जेनजी समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध पनि पक्राउ मागसहितको निवेदन पेस गरेको थियो। प्रहरीका अनुसार उक्त निवेदन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको टोलीलाई पठाइएको छ।

दुवै पक्ष भद्रकालीस्थित प्रहरी परिसरमा आमनेसामने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको थियो। प्रहरीले सम्भावित विवादका लागि परिसर आसपासमा अतिरिक्त सुरक्षा फौज परिचालन गरेको जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज