आयोगको स्पष्टिकरण : फौजदारी कसुरमा तत्काल अनुसन्धान गर्न सकिन्छ, प्रतिवेदन कुर्नु नपर्ने

काठमाडौं । भदौ २३ र २४ का घटनासम्बन्धमा बनेको जाँचबुझ आयोगका सदस्य विज्ञानराज शर्माले फौजदारी कसुरमा संलग्न जोकोहीमाथि अनुसन्धान र कानुनी कारबाहीका लागि आयोगको प्रतिवेदन कुर्नु नपर्ने स्पष्ट पारेका छन्।

मंगलबार जारी गरिएको विज्ञप्तिमा उनले सो घटनामा संलग्न व्यक्तिहरूलाई विद्यमान कानुनअनुसार सरकारी संयन्त्रबाटै तुरुन्त अनुसन्धान र कारबाही गर्न सकिने उल्लेख गरेका छन्।

शर्माले गृह मन्त्रालयले असोज ९ गते जारी गरेको विज्ञप्तिप्रति पनि आपत्ति जनाएका छन्। उक्त विज्ञप्तिमा मन्त्रालयले आयोगको प्रतिवेदन आएपछि मात्र कारबाही गर्न सकिने भनिएको थियो।

‘आयोगलाई प्राप्त कार्यादेशअनुसार भौतिक तथा मानवीय क्षतिको विवरण संकलन, विश्लेषण र राय दिने जिम्मेवारी छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर यसले सरकारी संयन्त्रलाई तत्काल कानुनी अनुसन्धानमा रोक लगाउँदैन।’

यसअघि आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले पनि भदौ २३ र २४ का घटनामा फौजदारी कानुन आकर्षित हुने विषयमा नियमित कानुनी प्रक्रिया अघि बढ्न कुनै अवरोध नहुने बताएका थिए।

आयोगको यस स्पष्टिकरणपछि घटनामा संलग्नलाई तत्काल कानुनी अनुसन्धान गर्नुपर्ने आवाज थप बलियो बनेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज