इटहरी । सुनसरीको इटहरीमा पत्नीको हत्या गरेको अभियोगमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने खोटाङ ऐसेलुखर्क गाउँपालिका–१ का सुमन दाहाल हुन्। उनले आफ्नी २५ वर्षीया पत्नी अनिशा भट्टराईलाई काठको बटमले प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
सुनसरी प्रहरी प्रमुख एसपी केशव थेबेले अनिशा लोक सेवा आयोगको तयारीका लागि इटहरी उपमहानगर–१२ मा डेरा गरी बसिरहेको जानकारी दिए। सोमबार साँझ दाहाल अनिशालाई भेट्न पुगेपछि दम्पतीबीच घरेलु विवाद चर्किएको र सोही क्रममा उनले आक्रमण गरेको प्रहरीको भनाइ छ।
गम्भीर घाइते भएकी अनिशालाई तत्काल विराटनगर लगिएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
एसपी थेबेका अनुसार दाहाल पेशाले शिक्षक हुन्। करिब पाँच–छ वर्षको प्रेम सम्बन्धपछि गत वैशाखमा उनीहरूको विवाह भएको खुलेको छ।
यस प्रकरणमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

