काठमाडौँ । संघीय संसदको राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफूले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन फिर्ता गरेका छन्।
सरकारले सेवानिवृत्त पदाधिकारीलाई उपलब्ध गराइँदै आएको सुविधा कटौती गर्ने निर्णय गरेलगत्तै तिमिल्सिनाले बिहीबार राति नै गाडी कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत् संसद सचिवालयमा बुझाएका हुन्।
मन्त्रिपरिषद्को असोज ५ गतेको बैठकले अनुत्पादक खर्च कटौती गर्ने निर्णयसँगै पूर्व पदाधिकारीले प्रयोग गर्दै आएका गाडी, जिन्सी सामग्री, सहयोगी र सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिएको थियो।
अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत कानुनले नदिएको सुविधा उपभोग गर्ने पदाधिकारीलाई निगरानीमा राखिएको जनाउँदै सार्वजनिक स्रोतको पारदर्शिता र सदुपयोगमा सरकार प्रतिबद्ध रहेको बताएका थिए।
तिमिल्सिनाले बीएसी २७३८ नम्बरको सरकारी गाडी हाल पोखरामा रहेर प्रयोग गर्दै आएका थिए। उनले सरकारी निकायबाट औपचारिक पत्राचार नभए पनि सरकारले गरेको निर्णयको आधारमा गाडी फिर्ता गरेको जानकारी संसद सचिवालयलाई दिएका छन्।
उनले भनेका छन्, “नेपाल सरकारको निर्णयबारे सूचना पाएपछि कुनै विलम्ब नगरी गाडी फिर्ता गरेको हुँ।”


