काठमाडौँ । नेपाली कांग्रेसका शीर्ष नेता शेरबहादुर देउवा र उनकी श्रीमती डा. आरजु राणा देउवाको राहदानी प्रकरणले परराष्ट्र मन्त्रालयभित्रै सवाल उठाएको छ। सामान्यतया विदाको दिन राहदानी विभाग बन्द रहने भए पनि असोज ३ गते देउवा दम्पतीका लागि नयाँ पासपोर्ट जारी भएको तथ्य सार्वजनिक भएपछि मन्त्रालयले आन्तरिक छानबिन थालेको हो।
मन्त्रालयका स्रोतका अनुसार, अस्वस्थता वा अन्य विशेष कारणमा छुट्टै व्यवस्था गर्न सकिने भए पनि यो प्रकरण विधिसम्मत देखिँदैन। “बिदाको दिन सहज प्रक्रियाबाट राहदानी जारी हुनु शङ्कास्पद छ,” एक अधिकारीले टिप्पणी गरे।
देउवा दम्पती भदौ २४ गते जेनजी आन्दोलनमा कुटपिटमा परेर घाइते भएपछि सैनिक अस्पतालमा उपचाररत थिए। त्यसकै बीचमा विभागका कर्मचारीमार्फत पासपोर्ट बनेको हल्ला बाहिरिएपछि थप प्रश्न उब्जिएको हो।
थाइल्यान्डमा उपचारका लागि जान तयारी गरेका उनीहरूको योजना राहदानी विवाद सार्वजनिक भएपछि रोकिएको बताइएको छ। यस विषयमा गृहमन्त्री ओमप्रकाश अर्यालले समेत औपचारिक चासो देखाउँदै तत्काल छानबिन गर्न निर्देशन दिइसकेको परराष्ट्र स्रोतको दाबी छ।

