काठमाडौं । जेन–जी आन्दोलनको क्रममा महाराजगञ्जस्थित प्रहरी वृत्तमा भएको आगजनीमा ज्यान गुमाउने तीन जना प्रहरीको परिचय खुलेको छ। मंगलबार साँझ प्रदर्शनकारीले प्रहरी कार्यालयमा आगजनी गर्दा उनीहरू भित्रै फसेका थिए।
प्रहरी मुख्यालयका अनुसार मृत्यु हुनेमा सहायक निरीक्षक (असई) मिलन राय, जवान उत्तम थापा र एक अन्य प्रहरी समावेश छन्। घटनामा घाइते वरिष्ठ हवल्दार पवित्रा गौलीलाई भने आईसीयूमा राखेर उपचार भइरहेको छ।
स्रोतका अनुसार प्रदर्शनकारीले कार्यालयमा आगजनी सुरु गरेपछि प्रहरीहरू निसास्सिएका थिए। घटनास्थलमा फसेका अन्य प्रहरीलाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको बताइएको छ।

