जेनजी पुस्ताको आह्वान : “भ्रष्टाचार अन्त्य र स्वतन्त्रता रक्षा” भन्दै सोमबार माइतीघरमा प्रदर्शन

काठमाडौं । नयाँ पुस्ता अर्थात् जेनजी पुस्ता (सन् १९९७–२०१२ जन्मिएका) ले सोमबार राजधानीमा सरकारविरुद्ध सडकमा उत्रिने भएका छन्।

भ्रष्टाचार, वंशवाद, बेरोजगारी, असमान सम्झौता र अभिव्यक्ति स्वतन्त्रतामा सरकारको अंकुशजस्ता मुद्दा लिएर उनीहरूले काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गर्ने तयारी गरेका हुन्।

भदौ २३ गते बिहान ११ बजे हुने कार्यक्रममा विद्यार्थी पहिरन, परिचयपत्र, कम्तीमा एउटा किताब र खाली कागजसहित उपस्थित हुन आह्वान गरिएको छ।

टिकटकमार्फत फैलिएको अभियान अहिले ट्रेन्डिङमा छ। यही डिजिटल अभियानकै क्रममा नेताहरू र उनीहरूका परिवारको ऐशआरामको जीवनशैलीमाथि समेत आलोचना बढेको छ।

जेनजी पुस्ताले ठूला भ्रष्टाचारमा कानुनी कारबाही नहुने प्रवृत्तिलाई कठोर शब्दमा विरोध गर्दै देशमा सुशासन र रोजगारी सिर्जनाको वातावरण बनाउनुपर्ने माग अघि सारेका छन्।

नेपालमा फेसबुक, इन्स्टाग्रामलगायत अन्य सामाजिक सञ्जाल बन्द भइरहे पनि टिकटक र भाइबर भने सञ्चालनमा रहेको कारण आन्दोलनको प्रचार–प्रसार त्यही प्लेटफर्ममार्फत तीव्र बनेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज