नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल आजैदेखि बन्द हुने

काठमाडौँ । नेपालमा दर्ता नभएका फेसबुक, युट्युब, इन्स्टाग्राम, ट्विटर (एक्स) लगायतका सामाजिक सञ्जालहरू आजैदेखि क्रमशः बन्द हुने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री पृथ्वीसुब्बा गुरुङसहित आज बसेको बैठकले सूचीकरण नगरेका सामाजिक सञ्जाललाई तत्काल रोक्ने निर्णय गरेको हो ।

सरकारले यसअघि २०८२ भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकमार्फत नेपालमा सञ्चालन भइरहेका सबै सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण गर्न निर्देशन दिएको थियो । तर, तोकिएको समयावधिभित्र फेसबुक, युट्युबजस्ता ठूला प्लेटफर्मले समेत निवेदन नदिएपछि मन्त्रालयले बन्द गर्ने प्रक्रिया अघि बढाएको हो ।

‘सूचीकरणमा नआएका सामाजिक सञ्जाल आजैदेखि बन्द गर्ने निर्णय लागू हुन्छ,’ मन्त्री गुरुङले बताए । उनका अनुसार दर्ता प्रक्रिया पूरा गर्ने प्लेटफर्म भने पुनः सञ्चालन गर्न पाउनेछन् । निर्णय कार्यान्वयनका लागि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशनसमेत दिएको छ ।

अहिलेसम्म टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइभ गरी पाँच प्लेटफर्म सूचीकरण भइसकेका छन् भने टेलिग्राम र ग्लोबल लिंक दर्ता प्रक्रियामा छन् । बाँकी अन्य सबै अनौपचारिक सञ्जाललाई तत्काल रोक लगाइने मन्त्रालयको भनाइ छ ।

सामाजिक सञ्जालको अनियन्त्रित प्रयोग बढ्दै गएपछि सरकारले २०८० सालमा सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका ल्याएको थियो । उक्त निर्देशिकाले नेपालमा सञ्चालन हुने सबै सञ्जाललाई अनिवार्य रूपमा सूचीकरण गरी अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको छ । तीन–तीन वर्षमा अनुमतिपत्र नवीकरण गर्ने प्रावधानसमेत त्यसमै उल्लेख छ ।

निर्देशिकाअनुसार दर्ता नगरेका सामाजिक सञ्जाललाई जुनसुकै बेला बन्द गर्न सकिने र सूचीकरण तथा अनुमतिका लागि मन्त्रालयभित्र ‘सामाजिक सञ्जाल व्यवस्थापन इकाइ’ गठन गर्ने व्यवस्था मिलाइएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज