रुपन्देही-३ उपनिर्वाचनका लागि रास्वपाका उम्मेदवार डा. लेखजंग थापाले सार्वजनिक गरे डिभोर्स कागज

रुपन्देही । रुपन्देही–३ उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका न्युरोचिकित्सक डा. लेखजंग थापाले आफ्नो व्यक्तिगत जीवनबारे स्पष्ट पार्दै पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद भएको कागज सार्वजनिक गरेका छन् । बहुविवाहको आरोपपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो पारिवारिक जीवन कानुनी र पारदर्शी भएको दाबी गरेका छन् ।

रुपन्देही-३ उपनिर्वाचनको तयारी चलिरहेका बेला रास्वपाका उम्मेदवार डा. लेखजंग थापा बहुविवाह गरेको भन्ने समाचार सार्वजनिक भएपछि चर्चामा आएका छन् । आरोपहरूपछि थापाले रुपन्देही जिल्ला अदालतको आदेशसहितको सम्बन्धविच्छेद कागज सार्वजनिक गर्दै आफूमाथिको आक्रमण पार्टी र आफूले अघि बढाएको “सुसंस्कृत राजनीति” माथिको सुनियोजित आक्रमण भएको बताएका छन् ।

“मेरो पारिवारिक जीवन न त गैरकानुनी छ, न समस्यापूर्ण,” थापाले भने, “यो आक्रमण मेरो विरुद्ध होइन, बेथिति र विसङ्गतिबाट मुक्त समाज निर्माण गर्न प्रयासरत राष्ट्रिय स्वतन्त्र पार्टीमाथि भएको हो।”

थापाले परिस्थितिजन्य कारणले दुई पटक विवाह गरेको स्वीकार गर्दै पहिलो विवाहबाट सन्तान रहेको र सम्बन्धविच्छेदपछि पनि सन्तानको भविष्यका लागि पूर्वपत्नीसँग सौहार्दपूर्ण सम्बन्ध राखिरहेको स्पष्ट पारेका छन् । उनले भने, “सन्तानको भविष्यका लागि उसको आमा र मसँग मित्रतापूर्ण सम्बन्ध हुनुमा मलाई कुनै ग्लानी छैन।”

न्युरोचिकित्सकको रूपमा १४ वर्ष लामो अनुभव भएका थापाले बालबालिकाको मानसिक स्वास्थ्यमा पारिवारिक सम्बन्धको गहिरो प्रभाव पर्छ भन्ने बुझाइ रहेको भन्दै पारदर्शितापूर्वक आफ्नो जीवनका पक्ष सार्वजनिक गरेको बताए ।

पार्टी र आफ्नो उम्मेदवारीबारे थापाले भने, “म नेता बन्न होइन, देश बदल्ने अभियानको सहयात्री बन्न आएको हुँ। रूपान्तरणको यात्रामा म बल बन्न चाहन्छु, कमजोरी होइन।” उनले पार्टीले गर्ने कुनै पनि निर्णयलाई स्वीकार र पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि रास्वपाले ३५ दिन लामो बहुआयामिक छनोट प्रक्रिया पूरा गरी थापालाई उम्मेदवार बनाएको हो ।

सम्बन्धित समाचार

ताजा न्यूज