काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छन्। प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा सुरु हुनेछ भने राष्ट्रियसभाको बैठक दिउँसो १२:१५ बजे बस्नेछ।
प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पेस गरी पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। साथै गृह, श्रम, युवा तथा खेलकुद र वन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम छ।
त्यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रस्तुत गर्नेछिन्। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ पेस गर्नेछन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव पेस गर्नेछन् भने युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ समितिमा पठाउने प्रस्ताव राख्ने कार्यक्रम तय गरिएको छ।
यसैगरी, राष्ट्रियसभाको बैठकमा गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्।
गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाबाट सन्देशसहित आएको ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि छलफल गरी पारित गर्ने सम्भावना छ। त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक, २०८१’ माथि विचार गर्न प्रस्ताव प्रस्तुत गर्ने तयारी छ।

