काठमाडौं । नेपाल इन्डिजिनस लिगल सोसाइटी (निल्स) को आयोजनामा साउन २ गते काठमाडौंस्थित नेपा ब्यङ्क्वेटमा आयोजित विशेष कार्यक्रममा न्यायिक क्षेत्रका दुई जना सक्रियव्यक्तित्वलाई सम्मान गरिएको छ।
सम्पदा, संस्कृति, गुठी र भूमि सम्बन्धी बौद्धिक सम्पत्तिको संरक्षण तथा न्यायिक लडाइँमा लामो समयदेखि सक्रिय रहनुभएका अभिवक्ता बुद्धिरत्न शाक्यलाई नगद २५,००० सहित “निल्स न्यायिक सम्मान–२०८२” प्रदान गरिएको छ। त्यस्तै, निल्सको गतिविधिमा निरन्तर सहकार्य र योगदान पुर्याउँदै आउनुभएका अधिवक्ता राजकुमार सुवाललाई पनि नगद २५,००० सहित “निल्स सहयात्री सम्मान–२०८२” द्वारा सम्मानित गरिएको हो।

कार्यक्रम अन्तर्गत “सम्पदा, संस्कृति र आदिवासीको हकअधिकारमा अदालतको अभ्यास” विषयक गोष्ठी पनि सम्पन्न भएको थियो। गोष्ठीमा वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ, वरिष्ठ अधिवक्ता तथा नेपाल वातावरण कानून समाजका अध्यक्ष पदमबहादुर श्रेष्ठ, अधिवक्ता विजयराज शाक्य, तथा अधिवक्ता तथा लाहुर्निपका उपाध्यक्ष शंकर लिम्बूले विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो।
त्यसैगरी, नेवाः दय् दबूका अध्यक्ष पवित्र बज्राचार्य र नेपाल बार एशोसिएसनका पूर्व कोषाध्यक्ष ज्ञानरत्न शाक्यले शुभकामना मन्तव्य दिनुभएको थियो।
उक्त कार्यक्रम नेपाल बार एशोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. विजय प्रसाद मिश्र र उपाध्यक्ष अधिवक्ता सरस्वती श्रेष्ठको विशेष उपस्थितिमा सम्पन्न भएको थियो।
नेपाल इन्डिजिनस लिगल सोसाइटी (निल्स) ले आदिवासी जनजाति, सम्पदा र सांस्कृतिक अधिकारको संरक्षण तथा प्रवर्द्धनमा कानुनी तथा संस्थागत प्रयासहरू गर्दै आइरहेको छ।


