काठमाडौं । पोखराको मालपोत कार्यालयमा देखिएको घुस प्रकरणको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफू निर्दोष रहेको स्पष्ट पारेका छन्। उनले यदि सार्वजनिक अडियोमा आफ्नो संलग्नता प्रमाणित भएमा जस्तोसुकै कानुनी सजाय भोग्न तयार रहेको बताएका छन्।
बिहीबार मन्त्रालयको एक वर्षे उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले अडियोमा आफ्नो आवाज छैन भन्दै त्यसप्रति आपत्ति जनाए। “यहाँहरूले अडियो सुन्नुभएको छ। मेरो आवाज, मैले त्यहाँ मागेको कुरा, मैले यो गर्दिन्छु भन्ने तपाईंहरूले फेला पार्नुभयो भने, म जस्तोसुकै सजाय पनि भोग्न तयार छु,” उनले प्रष्ट पारे।
उनका अनुसार केही व्यक्ति नियोजित ढंगले अफवाह फैलाएर देशभर भ्रम छर्ने प्रयासमा छन्। उनले यो अभियान आफ्नो चरित्र हत्या गर्ने नियतसहित गरिएको भन्दै चिन्ता व्यक्त गरे।
मन्त्री अधिकारीले पोखराको मालपोत कार्यालयका एक अधिकृतको सरुवासँग आफूलाई जोडेर गलत सन्देश फैलाइएको आरोप लगाए। उनले केही व्यक्तिहरू मालपोतका अधिकृतलाई पुनः फिर्ता गराउने दबाब दिन आफूसमक्ष आएको खुलासा गर्दै भने, “मैले हुन्न भनेपछि यस्ता अडियोहरू सार्वजनिक भए। म कुनै व्यक्तिगत अभिष्टका लागि यस्तो कार्य गर्दिनँ।”
उनले मालपोत अधिकृतको सरुवा आफ्नो निर्देशनमा नभएको र अहिले फेरि त्यहाँ जान्छु भन्ने कुनै योजना पनि नरहेको स्पष्ट पारे।
अडियो प्रकरण आफूविरुद्ध नियोजित षड्यन्त्र भएको मन्त्री अधिकारीको दाबी छ। उनले भने, “अहिलेसम्म अडियोमा प्रयोग भएको भाषा र आवाज मसँग मेल खाँदैन। मेरो कुनै संलग्नता छैन। अहिले मेरो नाम र परिवारलाई जोडेर चरित्र हत्या गर्न खोजिएको छ।”
पोखराको १३५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने चलखेलको अडियो बाहिरिएसँगै मन्त्री अधिकारी विवादमा मुछिएका हुन्। तर उनले उक्त जग्गा प्रकरणमा आफू संलग्न नभएको पुनः दोहोर्याउँदै भने, “यदि मेरो संलग्नता प्रमाणित भयो भने म तत्काल पदबाट राजीनामा दिन पनि तयार छु।”