काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको ७८ लाख रुपैयाँ घुस डिलको अडियो सार्वजनिक भएपछि संघीय संसदमा सत्तारूढ दलका सांसदहरूले चर्को आलोचना गरेका छन् । उनीहरूले मन्त्रीलाई बर्खास्त गर्दै निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा एमाले सांसद किरणकुमार साहले ‘दुनियाँले सुनेको अडियो सरकारले नसुनेझैँ गर्नु लोकतन्त्रको अपमान’ भएको भन्दै मन्त्री गुप्तालाई बर्खास्त गर्न माग गरे । उनले भने, ‘सामान्य प्रशासनमन्त्री गुप्ताजीको अडियो सार्वजनिक भइसकेको छ । किन सरकार मौन छ ? संसदमार्फत माग गर्छु, उनलाई बर्खास्त गरी निष्पक्ष छानबिन होस् ।’
सत्तासाझेदार नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले पनि मन्त्री गुप्ताको अडियोबारे संसदमा स्पष्ट जानकारी दिन माग गरिन् । ‘मन्त्रीको अडियो आएको छ, यसको वास्तविकता के हो ?’ भन्दै उनले सरकारको जवाफ माग गरिन् ।
विपक्षी सांसदहरूले तस्करी, भ्रष्टाचार र घुसकाण्डमा संलग्न भनिएका मन्त्रीहरूका विरुद्ध कारबाहीको माग गर्दै सरकारको मौनता प्रति आक्रोश व्यक्त गरे । रास्वपाका सांसद अशोक चौधरीले भिजिट भिसा काण्डमा गृहमन्त्री रमेश लेखक, घुस डिल प्रकरणमा राजकुमार गुप्ता र भूमि व्यवस्थामन्त्री बलराम अधिकारीमाथि छानबिन गर्न माग गरे ।
‘सत्ता संरचना के भ्रष्टाचार र मानव तस्करीमा संलग्नहरूलाई उन्मुक्ति दिने रक्षाकवच हो ?’ उनले प्रश्न गरे, ‘शंका मन्त्रीहरूमा छ, तर कारबाहीको साटो उनीहरूलाई प्रधानमन्त्रीले संरक्षण दिएको देखिन्छ ।’
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पनि गुप्ता र अधिकारीको घुस डिल अडियोबारे जवाफ माग गरे । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मन्त्रीहरूले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने या प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने धारणा राखे । ‘सुशासन आयोग कहाँ छ ? मन्त्रीहरू एकपछि अर्को काण्डमा मुछिँदा पनि किन मौन छ सरकार ?’ उनले प्रश्न गरे ।
लिङ्देनले दुई ठूला पार्टी मिलेर सरकार बनाएको तर देश लुट्ने काम मात्र भएको आरोप पनि लगाए । ‘जनताले टुलुटुलु हेरेर बस्नुपर्ने ? यसको प्रतिवाद गरिन्छ,’ उनले भने ।
माओवादी सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्री स्वयं संसदमा आएर जवाफ दिनुपर्ने माग गरे । ‘शून्य सहनशीलता र सुशासनको प्रतिबद्धता कहाँ हरायो ?’ उनले प्रश्न गरे ।
आरोपको घेरामा परेका भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले आफू र मन्त्रालयका कसैले घुस डिलिङ गरेको कुनै प्रमाण भए पेश गर्न चुनौती दिए । ‘यदि प्रमाण छ भने म आफैँ पनि कारबाही सहन तयार छु,’ उनले भने ।
सांसदहरूले सभामुख देवराज घिमिरेको भूमिकामाथि पनि प्रश्न उठाए । राप्रपा अध्यक्ष लिङ्देनले विपक्षीको अवरोधबीच सदन चलाउनु संसदीय इतिहासकै कालो समय भएको टिप्पणी गरे । अशोक चौधरीले प्रतिपक्ष उभिएको ४७ दिनसम्म सरकार र सभामुखको बेवास्ता संसदीय मर्यादामाथिको खिल्ली भएको बताए ।