नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्षसहित पाँच जनाविरुद्ध अख्तियारको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मुद्दामा संलग्नहरूमा अधिकारीका साथै ‘लक्की’ उपनामले चिनिने खुर्सनसिब अन्सारी, अमृत भुसाल, अंकित भुसाल र भुसाल हस्पिटालिटीका अध्यक्ष बालकृष्ण भुसाल रहेका छन्।

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहियामा निर्माणाधीन ‘र्‍याडिसन प्रोजेक्ट’का लागि भुसाल हस्पिटालिटी समूहले एक अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको ऋणका लागि नेपाल बैंक लिमिटेडमा प्रस्ताव पेश गरेको थियो। ऋण प्रक्रियामा सहजता ल्याउन अधिकारीसँग पटक–पटक ह्वाट्सएपमार्फत कुराकानी र प्रत्यक्ष भेटघाटसमेत भएको अख्तियारले जनाएको छ।

अधिकारीले ऋण स्वीकृत गराउने सर्तमा घुस रकम मागेको र सोअनुसार रकम प्रवाह भएको प्रमाण अख्तियारले सार्वजनिक गरेको छ। २०८१ भदौ ३० गते अंकित भुसालसँग अधिकारीले रकम मागेपछि बालकृष्ण भुसालले प्राइम बैंकको चेकमार्फत सात लाख रुपैयाँ उपलब्ध गराएका थिए। सो चेक ‘लक्की’ लाई दिइएको थियो, जसले पुनः राकेश थापामार्फत रकम साटेको बताइएको छ।

त्यसैगरी, १२ लाख रुपैयाँ अनन्या इन्टरप्राइजेज नामक फर्मको खातामा जम्मा गरिएको थियो, जुन अंकितले आफ्ना बुवासँग लिएर दिएको अख्तियारको अनुसन्धानले देखाएको छ। सो रकम अनन्या इन्टरप्राइजेजकी शारदा गुप्ता र रिंकु गुप्ताले प्राप्त गरी लक्की खानलाई पठाइदिएको र अन्ततः उक्त रकम अधिकारीलाई नै पुगेको खुलेको छ।

२०७८ माघ २३ गते चन्द्रबहादुर अधिकारीको घरबाट चेक, बैंक ट्रान्सफर विवरण र अन्य प्रमाणसमेत बरामद भएपछि अख्तियारले सबै पाँच जनालाई प्रत्यक्ष घुस लेनदेनमा संलग्न देखाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

सम्बन्धित समाचार

ताजा न्यूज