११ औं पटक विशेष कारण स्थागित बैठक १२ पटक बोलाइयो, प्रतिपक्षलाई नमनाउदा संसद सञ्चालन अनिश्चित

काठमाडौं । ११ औं पटक विशेष कारण भन्दै स्थागित भएको प्रतिनिधिसभा बैठक आज सोमबार दिउसो लगातार स्थागितपछि १२ पटक बोलाइएको छ । प्रतिपक्षको समर्थनविना आज पनि सञ्चालन नहुने निश्चित भएको देखिएको छ ।

प्रतिनिधि सभाको बैठक आइतबार मात्रै दुई पटक स्थगित भयो । दिउँसो १ बजेका लागि राखिएको बैठक सवा ३ बजेलाई सर्‍यो । त्यो पनि बस्न सकेन र साँझ साढे ५ बजेका लागि सर्‍यो ।

आइतबार मात्रै होइन, यही जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक सरेको सर्‍यै छ ।

१३ गते दुई पटक सर्‍यो, बैठक बस्न सकेन । १४ गते दुई पटक सर्‍यो । १५ गते बजेट ल्याउन विपक्षी दलहरूले दिए । त्यसपछि बसेको २० गते निर्धारित समयमा बैठक बस्न सकेन र एक पटक सरेर २१ गतेलाई राखियो ।

२१ गते एक पटक, २२ गते दुई पटक, २३ गते एक पटक र आइतबार दुई पटक गरेर ११ औं पटकसम्म प्रतिनिधि सभाको बैठक सरेको सर्‍यौ छ ।

संघीय संसद् सचिवालयले बैठक सरेको सूचना निकाल्दा त्यसको कारण दिने गर्दछ । संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बैठक सरेको सूचना टाँस गर्छन् । जसमा सबै बैठक सर्नुको कारण एउटै छ– विशेष कारणले ।

पछिल्लो पटक जारी सूचनामा भनिएको छ, ‘आज मिति २०८२ साल जेठ २५ गते आइतबार दिनको ३ः१५ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२)को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको ५ः३० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

महासचिव पद्मप्रसाद पाण्डेयले यस्तो सूचना निकाल्दै संसद् बैठक सार्दै आएको यही जेठ १३ गतेदेखि हो । प्रत्येक सूचनामा ‘विशेष कारणले’ बैठक सार्नुपरेको उल्लेख हुने गरेको छ । विशेष कारणले सर्ने बैठकमा जाने सांसदहरू दिनभर संसद भवन परिसरमा टहलिन्छन् र बेलुकी घर फर्किन्छन् ।

संसद् सचिवालयले जे जस्तो कारण भनेता पनि प्रतिनिधि सभाकोा बैठक प्रभावित हुनुको कारण हो– भिजिट भिसा प्रकरण । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो विषय उजागर गरेसागै संसदमा प्रवेश पाएको हो ।

सुरुमा विपक्षी दलहरूले यो प्रकरणको छानबिनका लागि गृहमन्त्रीको राजीनामा नै मागे । त्यसमा सत्तापक्ष तयार नभएपछि विपक्षीले छानबिन समिति गठनको माग राखेका छन् । यसमा पनि सत्तापक्ष तयार नहुँदा प्रतिनिधि सभाको बैठक सौहार्द हुन सकिरहेको छैन । परिणाममा आगामी आर्थिक बर्षको बजेटमाथिको छलफल प्रभावित बनेको छ ।

त्यसो त आजपनि संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्ने सूचना जारी गरिएको छ । छैटौँ अधिवेशनको २५ औँ बैठक सोमबार दिनको २ बजेका लागि बोलाइएको हो । तर, विपक्षीको अवरोधका कारण बैठक निरन्तर स्थगित हुँदै आएको छ ।

महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजको सम्भावित कार्यसूचीमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने रहेको छ ।

त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका माननीय सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्ने कार्यसूची छ ।

उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित “आ।व। २०८२र०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा आ.व.२०८२,०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची छ ।

सम्बन्धित समाचार

ताजा न्यूज