काठमाडौँ । सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिका कारण पक्राउ परेका विश्लेषक भरत दाहाललाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गरेको छ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले दाहाललाई नियन्त्रणमा लिनुको स्पष्ट लिखित कारण पेस गर्न र उनलाई सर्वोच्च अदालतमा सशरीर उपस्थित गराउन आदेश दिएको हो।
गत आइतबार मोरङको बेलबारीबाट प्रहरीले दाहाललाई पक्राउ गरेको थियो। उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी छोरी डेनिका दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन्। सोही निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले पक्राउको कारण माग गरेको हो।
दाहालले भूराजनीतिक विषयवस्तु तथा त्यसमा उच्चपदस्थ राजनीतिक व्यक्तिहरूको संलग्नताबारे दिएको विवादास्पद अन्तर्वार्ता सामाजिक सञ्जालमा व्यापक ‘भाइरल’ भएको थियो। सोही अभिव्यक्तिका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। सर्वोच्चको यो आदेशसँगै अब सरकारले पक्राउ गर्नुको कानुनी आधारसहित दाहाललाई अदालतसमक्ष पेस गर्नुपर्नेछ।


