राजधानीमा प्रहरीको कडा एक्सन, रातभरको स्विप अपरेसनमा १८ गुण्डा पक्राउ

काठमाडौंको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन र गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले चलाएको विशेष अभियान ‘अपरेसन सेफ्टी काठमाडौं’ अन्तर्गत रातभरिमा १८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छुट्टाछुट्टै टोली परिचालन गरी राजधानीका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार गएराति सञ्चालित यस अपरेसनमा विशेषगरी गुण्डागर्दीमा संलग्न र आफ्नै समूह निर्माण गर्न खोज्ने व्यक्तिहरूलाई निसानामा पारिएको छ। जसमा श्याम लामाको समूहमा रहेर सक्रिय रहेका ‘डिम्पल’ भनिने प्रवीण तामाङसहित कलंकी र बाफल क्षेत्रमा गुण्डागर्दी गर्ने बिर्जु महर्जन र कलंकीकै बस टिकट काउन्टर क्षेत्रबाट सुजन कार्की पक्राउ परेका छन्।

प्रहरीले स्युचाटार क्षेत्रमा आफ्नो छुट्टै समूह बनाउन सक्रिय रहेको आरोपमा सरू हुमागाईंलाई पनि नियन्त्रणमा लिएको छ भने बौद्ध क्षेत्रमा लुटपाट र गुण्डागर्दीको आरोपमा बिकी लामा, उत्तम तामाङ र आशिष तामाङ पक्राउ परेका छन्। यसैगरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि ठमेल, दरबारमार्ग र सामाखुसी जस्ता व्यस्त क्षेत्रहरूमा अपरेसन चलाएर १३ जनालाई नियन्त्रणमा लिएको कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिएका छन्। प्रहरीले पक्राउ परेका १८ जनाबाहेक अन्य ठूलो संख्यामा शंकास्पद व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर उनीहरूको आपराधिक पृष्ठभूमिबारे सुक्ष्म अनुसन्धान (स्कृनिङ) गरिरहेको छ। विगतका अपरेसनहरूमा पनि १०० देखि १२५ जनासम्मलाई स्कृनिङ गर्ने गरिएकोमा शुक्रबार त्यो भन्दा पनि बढी संख्यामा शंकास्पदहरूलाई नियन्त्रणमा लिएर छानबिन थालिएको प्रहरीको भनाइ छ।

सम्बन्धित समाचार

ताजा न्यूज