अनधिकृत वेबसाइट र बेटिङ एपमा विज्ञापन गरे कारबाही हुने: विज्ञापन बोर्डको कडा चेतावनी

काठमाडौँ । विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल तथा कानूनले निषेध गरेका स्थानहरूमा विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न कडा निर्देशन दिएको छ। सरकारले गत चैत १३ गतेको मन्त्रिपरिषद् बैठकबाट सबै प्रकारका बेटिङ एप र वेबसाइटहरू बन्द गर्ने निर्णय गरिसकेको सन्दर्भमा बोर्डले यस्तो आग्रह गरेको हो। बोर्डले गैरकानूनी रूपमा भइरहेका विज्ञापनका गतिविधिहरू तत्काल बन्द गर्न सरोकारवालाहरूलाई सचेत गराएको छ।

बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीका अनुसार, बन्द गरिएका एप तथा वेबसाइटमा विज्ञापन प्रकाशन वा प्रदर्शन गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइनेछ। बोर्डले त्यस्ता गैरकानूनी गतिविधि भइरहेको फेला पारेमा यथाशीघ्र उजुरी दिन समेत सर्वसाधारणमा अनुरोध गरेको छ।

यसका साथै विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ को व्यवस्थालाई स्मरण गराउँदै बोर्डले जुवा खेल्न प्रोत्साहन गर्ने वा अनुमति नलिई चिट्ठा किन्न उक्साउने खालका सामग्रीको विज्ञापन गर्न नहुने स्पष्ट पारेको छ। कानूनको बर्खिलाप हुने गरी कसैले विज्ञापन सामग्री प्रसारण गरेमा कडा कानूनी दायरामा ल्याइने बोर्डको भनाइ छ।

सम्बन्धित समाचार

ताजा न्यूज