काठमाडौँ । सरकारले रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदमा वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले गुल्मी निवासी अर्याललाई राष्ट्रिय सभाको रिक्त सदस्य पदमा मनोनीत गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
यसअघि मन्त्रिपरिषद्कै सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनुभएका वामदेव गौतमको कार्यकाल गत फागुन २० गते सकिएपछि सो पद रिक्त रहेको थियो। गौतमले आफ्नो कार्यकाल सकिनु केही समयअघि नै पदबाट राजीनामा दिनुभएको थियो। राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको पद रिक्त हुने संवैधानिक व्यवस्था छ, जसमध्ये तीन जना सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने प्रावधान रहेको छ।
पेशाले अधिवक्ता रहनुभएका अर्याल ‘जेनजी’ आन्दोलनपश्चात् गठित वर्तमान सरकारमा गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। मन्त्रिपरिषद्को सिफारिस बमोजिम राष्ट्रपतिबाट मनोनीत भएमा अर्यालको कार्यकाल ६ वर्षको हुनेछ। राष्ट्रिय सभाको सदस्य मन्त्री हुन पाउने भए पनि प्रधानमन्त्री बन्न नपाउने संवैधानिक व्यवस्था छ।

