काठमाडौँ । गैरकानुनी रूपमा १ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको अभियोगमा नेपाल प्रहरीले सुनसरीबाट एक जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१३ स्थायी घर भएका ज्योति शाही रहेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले बिहीबार धरान उपमहानगरपालिका–५ खैरेनीबाट उनलाई पक्राउ गरेको हो।
सीआईबीका अनुसार पक्राउ परेका शाहीले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा घरेलु तथा साना उद्योग कार्यालय इटहरीमा ‘शाही मनी ट्रान्सफर’ नामक फर्म दर्ता गराएका थिए। सोही मनी ट्रान्सफरको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा ५२ वटा फरक-फरक खाता खोली गैरकानुनी रूपमा हुण्डी कारोबार सञ्चालन गर्दै आएको अनुसन्धानबाट खुलेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ती खाताहरूको प्रयोग गरी कुल १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ रुपैयाँ बराबरको हुण्डी कारोबार गरिएको पाइएको छ।
वित्तीय कसुर र हुण्डी कारोबारमा संलग्नता पुष्टि हुने प्रमाण भेटिएपछि प्रहरीले सुनसरी जिल्ला अदालतबाट मंगलबार शाही विरुद्ध पक्राउ पुर्जी लिएको थियो। सोही पुर्जीका आधारमा सीआईबी र स्थानीय प्रहरीको टोलीले बिहीबार दिउँसो ४:४५ बजे उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका शाहीमाथि राष्ट्र बैंक ऐन तथा वित्तीय अपराधसम्बन्धी कानुनी प्रावधान अनुसार थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

