काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई गैरकानुनी रूपमा राजस्व छुट दिएर अर्बौँ भ्रष्टाचार गरेको आरोप खेपेका नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले धरौटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले अधिकारीलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश सुनाएको हो।
यद्यपि, अन्य छुट्टै भ्रष्टाचार मुद्दामा समेत थुनामा रहेका कारण यो मुद्दामा धरौटी बुझाए पनि उनी तत्काल जेलमुक्त भने हुन पाउने छैनन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाखमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र पूर्वमहानिर्देशक अधिकारीसहित १४ जनाविरुद्ध ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। ठेक्का सम्झौतामा स्पष्ट रूपमा ठेकेदार स्वयंले नै सम्पूर्ण राजस्व तिर्ने सर्त उल्लेख भएकोमा त्यसलाई उल्लङ्घन गर्दै गैरकानुनी रूपमा राज्यको कर छुट दिइएको अख्तियारको ठहर थियो। यस राजस्व घोटाला मुद्दामा जोडिएका अन्य आरोपितहरू भने यसअघि नै धरौटी बुझाएर अदालतबाट छुटिसकेका छन्।
अदालतबाट धरौटी आदेश आए पनि अधिकारीको हिरासत बसाइ लम्बिने भएको छ। विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार अन्य गम्भीर मुद्दामा थुनामा रहेकाले यो मुद्दाको धरौटी रकम दाखिला गरे तापनि उनले थुनामै रहेर कानुनी प्रक्रिया सामना गर्नुपर्नेछ। विमानस्थल निर्माणमा भएको बहुचर्चित ३ अर्ब ६२ करोडभन्दा बढीको यो भ्रष्टाचार प्रकरणमा अख्तियार र विशेष अदालतको कारबाहीलाई न्यायिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।

