गाउँपालिकाका आईटी अधिकृत १ लाख घुससहित बालाजुबाट रंगेहात पक्राउ

काठमाडौं । स्थानीय तहमा हुने गैरकानुनी कमिसनको धन्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कडा प्रहार गरेको छ। नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि (आईटी) अधिकृत वीरेन्द्र तामाङलाई एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले काठमाडौंको बालाजुबाट रंगेहात पक्राउ गरेको हो। सेवाग्राहीको कामबापत हुनुपर्ने भुक्तानी रकमबाट अनुचित कमिसन दाबी गर्दै आएका तामाङ अख्तियारको विशेष टोलीको फन्दामा परेका हुन्।

सेवाग्राहीसँग रकम मोलमोलाइ भइरहेको र घुस माग्ने काम जारी रहेको भन्ने गोप्य सूचनाका आधारमा अख्तियार टंगालबाट खटिएको टोलीले उनलाई निगरानीमा राखेको थियो। सोही क्रममा काठमाडौं महानगरपालिका-१६ स्थित बालाजु क्षेत्रबाट तामाङलाई सेवाग्राहीबाट १ लाख रुपैयाँ नगद बुझिसकेलगत्तै टोलीले नियन्त्रणमा लिएको हो। कार्यक्षेत्र गाउँपालिका भए पनि काठमाडौँमा आएर घुस रकम बुझ्दै गर्दा उनी पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जारी गरेको आधिकारिक विज्ञप्तिअनुसार नियन्त्रणमा लिइएका आईटी अधिकृत तामाङमाथि म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। सेवाग्राहीको वैधानिक भुक्तानी रोकेर कमिसन असुल्ने प्रवृत्तिविरुद्ध अख्तियारले चालेको यो कदमले स्थानीय तहमा हुने भ्रष्टाचार र अनियमितामा संलग्न कर्मचारीहरूमाझ कडा सन्देश प्रवाह गरेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज