फौजदारी मुद्दामा निजी विगो भराउँदा कुनै पनि दस्तुर नलिन उच्च अदालत वीरगंजको परमादेश

वीरगंज । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजले फौजदारी मुद्दामा निजी विगो भराउँदा कानुनी व्यवस्था बिना कुनै पनि प्रकारको दस्तुर लिन नपर्ने स्पष्ट पारेको छ। अदालतले फैसला कार्यान्वयनका क्रममा गैरकानूनी रूपमा दस्तुर लिने कार्य रोक्न सम्बन्धित जिल्ला अदालतहरूका नाममा परमादेशको आदेश जारी गरेको छ।

निवेदक अभिनय गुसाले दिएको निवेदनमा सुनुवाइ गर्दै अस्थायी इजलास वीरगंजका न्यायाधीशद्वयको संयुक्त इजलासले पर्सा जिल्ला अदालतसमेतलाई विपक्षी बनाई उक्त परमादेश जारी गरेको हो। यस आदेशको जानकारी रौतहट र बारा जिल्ला अदालतलाई समेत पठाइएको छ।

यसमा फैसला कार्यान्वयनको लागि विशेष कानूनले कुनै दस्तुर लिने स्पष्ट व्यवस्था गरेकोमा बाहेकको फौजदारी मुद्दामा विगो भराई दिएबापत कुनै पनि दस्तुर नलिनु, लिन नदिनु भनी विपक्षी पर्सा जिल्ला अदालत समेतको नाममा परमादेशको आदेश जारी हुने ठहर्छ, अदालतद्वारा जारी आदेशमा भनिएको छ ।

कानूनी प्रावधान बिना लिँदै आएको यस्तो दस्तुर रोकिनुले सर्वसाधारण सेवाग्राहीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। यसले विशेषगरी फौजदारी मुद्दाका पक्षहरूलाई न्यायमा पहुँच पुर्‍याउन तथा मुद्दामा मिलापत्र गर्न समेत सहज वातावरण सिर्जना गर्नेछ।

सम्बन्धित समाचार

ताजा न्यूज