संवैधानिक परिषद्को बैठक आह्वान, प्रधानन्यायाधीशको नियुक्ति सिफारिस मुख्य कार्यसूची

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले रिक्त रहेका संवैधानिक पदहरूमा नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेसँगै नियुक्ति प्रक्रिया अघि बढाउने बाटो खुलेपछि प्रधानमन्त्रीले आगामी बिहीबार अपराह्न ५ बजेका लागि बैठक बोलाएका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार बस्ने बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको छ।

हाल सर्वोच्च अदालतको प्रधानन्यायाधीश, प्रमुख निर्वाचन आयुक्त लगायतका महत्वपूर्ण संवैधानिक पदाधिकारीका पदहरू रिक्त रहेका छन्। यसैगरी, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्ष पद रिक्त छ भने एक जना बाहेक अरु सदस्यहरू छैनन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक सदस्य, समावेशी आयोगमा अध्यक्ष र एक सदस्य, महिला आयोगमा एक सदस्य तथा मुस्लिम र थारू आयोगहरूमा पनि पदाधिकारीका पदहरू रिक्त रहेका छन्। यी पदहरूमा परिषद्ले सिफारिस गर्ने र संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि राष्ट्रपतिले नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ।

बिहीबारको बैठकमा सहभागी हुनका लागि सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीमराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ। सरकारको सिफारिसमा जारी भएको नयाँ अध्यादेशमा बैठकमा उपस्थित सदस्यहरूको ५० प्रतिशत अर्थात् ३ जनाको पक्षमा प्रधानमन्त्री उभिएको प्रस्ताव निर्णय हुन सक्ने व्यवस्था गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज