काठमाडौँ । पारदर्शिता र सुशासनको नारा घन्काउँदै सत्ताको बागडोर सम्हालेका गृहमन्त्री सुधन गुरुङ विवादको घेरामा तानिएका छन्। हालै सार्वजनिक भएको उनको सम्पत्ति विवरणमा एक ‘विवादास्पद’ कम्पनीको ठुलो हिस्सा सेयर लुकाएको तथ्य फेला परेको छ।
दियो पोस्टले सार्वजनिक गरेको समाचार अनुसार, गृहमन्त्री गुरुङ चर्चित विचौलिया दिपक भट्ट समूहको सेटिङमा लाइसेन्स पाएको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा हिस्सेदार रहेको खुलासा भएको छ, तर उनले सरकारलाई बुझाएको आधिकारिक सम्पत्ति विवरणमा भने यो लगानी कतै उल्लेख गरेका छैनन्। गृहमन्त्री गुरुङले बुझाएको सम्पत्ति विवरण फाराममा धितोपत्र र सेयरतर्फ होप होल्डिङ्गस प्रा.लि.को ३०,००० कित्ता (३० लाख रुपैयाँ), लगुम प्रिपियम अपार्टमेन्ट्स प्रा.लि.को ५७,००० कित्ता (५७ लाख रुपैयाँ), धितोपत्र बजार (नेप्से) मा कुल २ करोड ७४ लाख ५६ हजार २०० रुपैयाँ बराबरको सेयर र एडभेन्चर भिल्ला प्रा.लि.को ७०,००० कित्ता (७० लाख रुपैयाँ) मात्र लगानी देखाएका छन् ।धितोपत्र बजारमा कारोबार हुने शेयरहरु भनेर एकमुष्ट २ करोड ७४ लाख देखाएका छन् । सार्वजनिक गरिएको सम्पति बिबरणमा कहि कतै स्टार माइक्रो इन्स्योरेन्सको नाम र त्यसमा रहेको भनिएको २५ लाख रुपैयाँ बराबरको सेयर कतै देखिँदैन।
यी विवरणहरूमा उनले आफ्नो आयस्रोत व्यवसाय र पैतृक सम्पत्ति रहेको दाबी गरेका छन् । तर, यो सूचीमा सेयर लगत अनुसार स्टार माइक्रो इन्स्योरेन्सको सेयर सदस्यको ४९ नम्बरमा सुधन गुरुङको नाम छ, जहाँ उनको बाबुको नाम दिल बहादुर गुरुङ र स्थायी ठेगाना चुमुनुब्री उल्लेख छ।

मन्त्रीले पेश गरेको आधिकारिक सम्पत्ति विवरणमा पनि बाबुको नाम दिल ब. गुरुङ र स्थायी ठेगाना गोरखाको चुमनुव्री गाउँपालिका नै उल्लेख भएकाले यी दुवै व्यक्ति एकै भएको पुष्टी हुन्छ। यसरी नाम, बाबुको नाम र ठेगाना दुरुस्त मिल्दा समेत मन्त्रीले आफ्नो सम्पत्ति विवरणमा उक्त सेयर किन समावेश गरेनन् भन्ने प्रश्न गम्भीर बनेको छ।
स्टार माइक्रो इन्स्योरेन्स त्यही कम्पनी हो जसले २०७९ को निर्वाचन लगत्तै नेपाल बिमा प्राधिकरणबाट लाइसेन्स पाएको थियो र यसका लगानीकर्ताहरू हाल सम्पत्ति शुद्धीकरणको अभियोगमा प्रहरी हिरासतमा रहेका दिपक भट्टसँग निकट मानिन्छन्। करोडौँको सेयर विवरण सार्वजनिक गर्ने आँट गरेका गृहमन्त्रीले यो लगानी लुकाउनुले विचौलिया समूहसँगको सम्बन्ध सार्वजनिक हुने डर रहेको आशंका उब्जाएको छ।
यस्तो छ मन्त्री ले सार्वजनिक गरेको सम्पति विबरण:

