लएलबी पढ्न चाहनेलाई राहत, त्रिविमा कोटा थपेर ३ हजार ८ सय पुर्‍याइयो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यस वर्षदेखि कानून संकाय अन्तर्गत स्नातक तह (एलएल.बी.) मा विद्यार्थी कोटा उल्लेख्य रूपमा वृद्धि गर्दै ३ हजार ८ सय पुर्‍याएको छ । सिमित कोटाका कारण वर्षेनी सयौँ विद्यार्थीहरू कानून शिक्षाको अवसरबाट वञ्चित हुनुपर्ने वा निजी कलेजहरूमा १० देखि १५ लाख रुपैयाँसम्म महँगो शुल्क तिर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै विश्वविद्यालयको प्राज्ञिक परिषद्ले सिट संख्या बढाउने निर्णय गरेको हो ।

यस नयाँ व्यवस्था अनुसार काठमाडौँको नेपाल ल क्याम्पसमा ६ सय सिट निर्धारण गरिएको छ भने पोखराको पृथ्वीनारायण क्याम्पस, धरान, नेपालगञ्ज, बुटवल र राजविराजका महेन्द्र बहुमुखी क्याम्पसहरूमा ३–३ सय कोटा तोकिएको छ ।

यसपटक त्रिविले थप आधा दर्जन क्याम्पसहरूमा समेत एलएल.बी.को अनुमति दिएर पहुँच विस्तार गरेको छ । नयाँ थपिएका पद्मकन्या, भक्तपुर, सुर्खेत बहुमुखी क्याम्पसका साथै जनकपुरको रामस्वरूप रामसागर र विराटनगरको डिग्री क्याम्पसमा ३–३ सय सिट कायम गरिएको छ भने वीरगञ्जको हरि खेतान बहुमुखी क्याम्पसलाई २ सय कोटा दिइएको छ ।

संकायले भर्नाका लागि प्रवेश परीक्षाको आवेदन समेत आह्वान गरिसकेको छ, जस अनुसार इच्छुक विद्यार्थीले आगामी जेठ ७ गतेसम्म र दोब्बर दस्तुर तिरेर जेठ १४ गतेसम्म फारम भर्न सक्नेछन् । कुल कोटा मध्ये ११ सय सिट आरक्षणका लागि छुट्याइएको छ, जसमा समावेशी समूहका साथै विश्वविद्यालयका कर्मचारीका छोराछोरीलाई समेत समेटिएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज