काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेका र विभिन्न व्यक्ति वा संस्थाले अनाधिकृत रूपमा कब्जा गरेका जग्गा तथा अचल सम्पत्ति फिर्ता गर्न ३५ दिने सूचना जारी गरेको छ। विश्वविद्यालयको जग्गा केही व्यक्ति, कम्पनी तथा संघ(संस्थाहरूले कानुन विपरीत नियन्त्रणमा लिएर उपभोग गरिरहेको पाइएपछि त्रिविले यस्तो कठोर कदम चालेको हो।
त्रिविको सामान्य प्रशासन शाखाले एक सार्वजनिक सूचना जारी गर्दै अनाधिकृत रूपमा कब्जा, भोग तथा नियन्त्रणमा लिइएका सबै सम्पत्ति तोकिएको समयभित्र फिर्ता गर्न ताकेता गरेको छ।
विश्वविद्यालयले जारी गरेको सूचनामा ३५ दिनको समय सीमाभित्र स्वतःस्फूर्त रूपमा सम्पत्ति फिर्ता नगरेमा प्रचलित कानुन बमोजिम कडा कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनी समेत दिइएको छ। त्रिविको यो निर्णयसँगै लामो समयदेखि अतिक्रमणमा परेका विश्वविद्यालयका बहुमूल्य जग्गाहरू पुनः प्राप्त हुने अपेक्षा गरिएको छ। सूचनाको म्याद समाप्त भएपछि पनि अटेर गर्नेहरू विरुद्ध नियमानुसार कानुनी प्रक्रिया सुरु गरिने प्रशासनले स्पष्ट पारेको छ।


