काठमाडौं । पूर्व प्रहरी उपरीक्षक (एसपी) आभूषण तिम्सिनाले रास्वपा सांसद तथा पूर्व एआइजी विश्वराज पोखरेलले आफूलाई आइजीपी बनाउन सात करोड रुपैयाँ माग गरिएको भनी दिएको अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका छन्। पोखरेलले हालै एक अन्तर्वार्तामा तत्कालीन प्रधानमन्त्री पत्नी डा. आरजु राणा र बिचौलियाहरूले आफूसँग उक्त रकम प्रस्ताव गरेको दाबी गरेपछि तिम्सिनाले सामाजिक सञ्जालमार्फत त्यसको प्रतिवाद गरेका हुन्।
तत्कालीन सरकारले एसएसपी बढुवाका क्रममा उनलाई छुटाएपछि तिम्सिनाले २०८० वैशाख १७ मा प्रहरी सेवाको उपरीक्षक (एसपी) दर्जाबाट राजीनामा दिएका थिए। पूर्व एसपी तिम्सिनाले पोखरेललाई बेतुकका आरोप नलगाउन आग्रह गर्दै उनी आफैँ शक्तिमा हुँदा सिनियरलाई लडाएर र साथीहरूलाई छिर्के दाउ लाएर एआइजीपी बनेको दाबी गरेका छन्।
पूर्व एसपी तिम्सिनाले प्रहरी संगठनमा रहँदा पोखरेलले सबै प्रकारका सुविधाहरू लिएको उल्लेख गर्दै सांसद भइसक्दा पनि फण्डाको खेती गर्न नछाडेकोमा प्रश्न उठाएका छन्। उनले तत्कालीन समयमा आरजु राणा र शेरबहादुर देउवाको पहिलो रोजाइ धीरजप्रताप सिंह नै रहेको दाबी गर्दै पोखरेलले जति नै पैसा दिए पनि आइजीपी बन्न नसक्ने तर्क गरेका छन्। तिम्सिनाले पोखरेललाई केटाकेटी पारा देखाउनुको सट्टा आफू पूर्व एआइजी र हालको सांसद भएको नाताले संसदीय छानबिन समिति गठन गरेर प्रमाणसहित कानुनी उपचार खोज्न चुनौती समेत दिएका छन्।
तिम्सिनाले आफ्नो पदोन्नतिको समयमा आरजु राणाको थिचाई र तत्कालीन आइजीपी वसन्त कुँवरको अक्षमताका कारण आफूले २४ वर्षको सेवापछि राजीनामा दिनुपरेको पीडा समेत व्यक्त गरेका छन्। उनले पोखरेललाई हिजोका राजनीतिज्ञ र उनीहरूबीच के भिन्नता रह्यो भन्दै प्रश्न गरेका छन्। नागरिक फ्रन्टलाइन कार्यक्रममा पोखरेलले आफूलाई आइजीपी बनाउन अनौपचारिक रूपमा ७ करोडको प्रस्ताव आएको र आफूले त्यसलाई ठाडै अस्वीकार गरेको खुलासा गरेका थिए।
यस्तो छ तिम्सिनाले लेखेको स्ट्याटसः
आरजु राणासँग मेरो कुनै आशक्ति छैन, बरु आरजू राणाको थिचाई, मिचाई, अनि मेरो पदोन्नतिको समयमा तत्कालीन आरजु राणाका प्यादा आइजिपी बसन्त कुँवरको अक्षमता र निरिहपनाको कारण मैले २४ बर्ष पुग्न लाग्दा प्रहरी उपरीक्षक पदबाट राजीनामा दिएर प्रहरी संगठनबाट निस्किएको हुँ। प्रहरी संगठनमा कार्यरत रहँदा सबै प्रकारका सुबिधा लिएका हुन्, बिश्वराज पोखरेल सरले। उनले आफू शक्तिमा हुँदा सिनियरलाई लडाएर, आफ्ना साथीहरुमध्ये पनि सिनियरलाई छिर्के दाउ लाएर एआइजिपी सम्म बनेकै हुन्। मलाई केसम्म थाहा छ भने, यिनलाई जति नै करोड पैसा दिए पनि धीरजप्रताप सिंहलाई पछारेर यिनी आइजिपी बन्न सक्दैन थिए। धीरज पैसा खान र बाँड्न सर्वेन्द्र खनाललाई पनि जित्न सक्ने पात्र हुन्। धीरज सिंहलाई जितेर जति नै पैसा बाँडे पनि यिनी आइजिपी बन्दैन थिए । किनकि, आरजुको र शेरबहादुरको पहिलो रोजाइ नै धीरजप्रताप सिंह थिए।
तर, अहिले सांसद भइसक्दा पनि आरजुलाई हिलो छ्यापेर आफ्नो योग्यता बढाउने बिश्वराज पोखरेल सरको फण्डा देखेर पोखरेल सरको केटाकेटी पारामा हाँस उठेको छ। अरे पोखरेल साब १ सांसद बनिसक्दा पनि फण्डाको खेती गर्न छाड्नुहुन्न भने हिजोका राजनितिज्ञ र तपाईंहरुमा के भिन्नता भयो? आरजु ले गरेका गल्तीहरुमा छानवीन गर्नुस्, अझ तपाईं त प्रहरीको एआइजिपी भएको मानिस, एउटा सर्वशक्तिमान संसदीय छानबिन समिति गठन गर्नुस् । त्यसको नेतृत्व तपाईं नै गर्नुस् र गरेका र भएका अपराधहरुको प्रमाण आफैँ कानून र विधिबमोजिम संकलन गर्नुस् । अनि, सजाय दिलाउनुस न। किन बेतुकका आरोप लाउनुहुन्छ ?

