काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग साइबर ब्युरोले विद्युतीय कारोबार ऐन अन्तर्गत सोधपुछ गरेको छ ।
ब्युरोका एसपी दीपकराज अवस्थीका अनुसार बस्नेतलाई भोटाहिटीस्थित साइबर ब्युरोमा बोलाई सोधपुछ सुरु गरिएको हो । बस्नेतले शोभा पाठकले दर्ता गरेको जाहेरीका विषयमा बुधबार बयान दिएका छन् ।
विद्युतीय कारोबार ऐन उल्लङ्घनको आरोपमा दर्ता भएको उक्त जाहेरीबारे बस्नेतसँग बयान लिने कार्य जारी रहेको प्रहरीले जनाएको छ । यसअघि सरकारी वकिल कार्यालयले सो मुद्दा तामेलीमा राखे पनि असोज ५ गते पुनः अनुसन्धान अघि बढाउन निर्देशन दिएको थियो ।
बस्नेतले सामाजिक सञ्जालमार्फत पीडितलाई लक्षित गरी महिला केन्द्रित अपशब्द प्रयोग गरेको र उनीसँग सम्बन्धित फ्यान क्लब पेजमा पनि आपत्तिजनक टिप्पणीहरू गरिएको भन्दै जाहेरी परेको हो । सो निर्देशनपछि प्रहरीले पक्राउ अनुमति मागेपनि काठमाडौँ जिल्ला अदालतले ‘थप प्रमाण’ पेश गर्न भनेको थियो ।
प्रहरीले अहिले बस्नेतको फेसबुक पोस्ट र सम्बन्धित फ्यान क्लब पेजमा लेखिएका टिप्पणीहरूको सत्यता र अभिप्रायबारे अनुसन्धान गरिरहेको जनाएको छ । यसअघि बलात्कार र भ्रूणहत्या मुद्दा नचलाउने सरकारको निर्णयसँग सम्बन्धित रिट पाटन उच्च अदालतमा विचाराधीन छ ।

