काठमाडौं । सिंहदरबार परिसरमा पत्रकारले अनुमति बिना फोटो खिचेको भन्दै सङ्घीय सांसदका महासचिव पद्मप्रसाद पाण्डेयले कानुनी कारबाहीको चेतावनी दिएका छन्। निजामती सेवा विधेयकमा प्रस्ताव गरिएको दुई वर्षे ‘कुलिङ पिरियड’को विषयमा प्रमुख सचिव एकनारायण अर्यालसहित पाण्डेय र अन्य सचिवहरू सङ्घीय संसद् सचिवालयमा सभामुख र राष्ट्रियसभा अध्यक्षसँग छलफल गर्न पुगेका थिए।
उक्त भेटपछि सचिवहरू बाहिर निस्कँदै गर्दा पत्रकारहरूले तस्बिर र भिडियो खिचेका थिए। सो क्रममा पाण्डेयले डायरीले आफ्नो अनुहार छोपेका थिए, जुन तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।
पाण्डेयले त्यसप्रति असन्तुष्टि जनाउँदै फेसबुकमा लेखेका छन्, “सांसदका महासचिवले किन मुख छोपे भनी प्रश्न गरिएको प्रति मेरो ध्यानाकर्षण भएको छ। नेपालको संविधानको धारा १६ (१) ले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक सुनिश्चित गरेको छ भने, धारा २८ मा व्यक्तिको गोपनीयताको हक सुनिश्चित गरिएको छ।”
उनले मुलुकी अपराध संहिता, २०७४ को दफा २९५ अनुसार अनुमति बिना फोटो खिच्नु फौजदारी अपराध भएको भन्दै यस्तो कार्यमा संलग्नहरूलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था स्मरण गराएका छन्।
पाण्डेयले थप स्पष्ट पारेका छन्, “मेरो सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षणका लागि मैले फोटो खिच्न अनुमति दिन अस्वीकार गरेको हुँ।”
-यो समाचारमा प्रयोग गरिएको तस्बिर भने पाण्डेयको सामाजिक सञ्जालबाट साभार गरिएको हो । सम्पादक