नयाँ शैक्षिक सत्रमा वैशाख १५ देखि भर्ना र २१ गतेबाट पठनपाठन सुरु हुने

काठमाडौं । सरकारले आगामी शैक्षिक सत्र २०८३ को कार्यतालिका सार्वजनिक गर्दै वैशाख १५ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्ने निर्णय गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्ना प्रक्रियाका सम्बन्धमा रहेको अन्योल चिर्दै यस वर्षको शैक्षिक सत्र वैशाख १५ गतेबाटै सञ्चालन हुने र सोही दिनदेखि भर्ना कार्यक्रम सुरु हुने स्पष्ट पारेको हो। केन्द्रद्वारा जारी गरिएको आधिकारिक सूचना अनुसार भर्ना प्रक्रिया सम्पन्न गरी वैशाख २१ गतेदेखि विद्यालयहरूमा नियमित पठनपाठन सुरु हुनेछ। यसअघि सामान्यतया वैशाख १ गतेबाटै शैक्षिक सत्र सुरु हुने प्रचलन रहे तापनि यस पटक सरकारले नयाँ मिति तय गरेको हो।

पठनपाठन सुरु हुनुअघिको समयलाई विद्यालयको आन्तरिक तयारी र सुधारका लागि उपयोग गरिने केन्द्रको योजना छ। जसअनुसार वैशाख २ गतेदेखि १५ गतेसम्म विद्यालयहरूले प्रवर्धनात्मक र रचनात्मक शैक्षिक गतिविधिहरू सञ्चालन गर्नुपर्नेछ। यस अवधिमा शैक्षिक सत्रका लागि आवश्यक कार्ययोजना निर्माण, वार्षिक कार्यतालिकाको तयारी, शैक्षणिक योजनाको व्यवस्थापन तथा विद्यालय सुधार योजनालाई अद्यावधिक गर्ने कार्य सम्पन्न गर्नुपर्ने निर्देशन दिइएको छ। त्यसैगरी, शिक्षकहरूको पेसागत क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गर्ने र विद्यार्थीहरूको सिकाइ उपलब्धिमा सुधार ल्याउन आवश्यक योजनाहरू तयार पार्न समेत केन्द्रले विद्यालयहरूलाई सूचित गरेको छ।

नयाँ शैक्षिक तालिकामा सरकारको सार्वजनिक बिदा सम्बन्धी पछिल्लो निर्णयलाई पनि समावेश गरिएको छ। हाल कार्यान्वयनमा रहेको शनिबार र आइतबार गरी हप्ताको दुई दिन सार्वजनिक बिदा दिने व्यवस्थालाई आधार मानेर नै विद्यालयहरूले आफ्नो शैक्षिक कार्यक्रम र वार्षिक क्यालेन्डर तयार गर्नुपर्नेछ। यसरी दुई दिने बिदालाई समायोजन गर्दै वार्षिक कार्यतालिका कार्यान्वयनमा ल्याउन केन्द्रले सबै शैक्षिक संस्थाहरूलाई स्पष्ट निर्देशन दिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज